काठमाडौं । तिहारको लक्ष्मीपूजाको रात काठमाडौंका संवेदनशील क्षेत्र र हवाई मार्गमा अनुमतिबिना नै ड्रोन उडाइएको घटनाप्रति नेपाल मानव रहित विमान (ड्रोन) संघले गम्भीर आपत्ति जनाएको छ। संघले यस्तो कार्यले हवाई सुरक्षा र राष्ट्रिय सुरक्षामा प्रत्यक्ष जोखिम निम्त्याएको ठहर गरेको छ।
संघका अनुसार, त्यस रात नियमित उडान हुने हवाई मार्ग र विमान आवतजावत गर्ने क्षेत्रमा मात्र नभई नेपाली सेनाको मुख्यालयजस्ता अति संवेदनशील तथा प्रतिबन्धित क्षेत्रमाथि समेत ड्रोन उडाएर दृश्य खिचिएको पाइएको छ। रातको समयमा एकैपटक धेरै ठाउँमा अनुमति नलिई ड्रोन सञ्चालन गर्नुलाई संघले गम्भीर लापरवाही भनेको छ।
गृह मन्त्रालयले जारी गरेको ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५ र नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षासम्बन्धी प्रचलित नियमको ठाडो उल्लंघन भएको संघको भनाइ छ। यसरी जथाभावी ड्रोन उडाउँदा हवाई उडानको सुरक्षा, सर्वसाधारणको व्यक्तिगत गोपनीयता र समग्र राष्ट्रिय सुरक्षामा चुनौती थपिएको संघले औंल्याएको छ।
संघका महासचिव प्रबिन भट्टराईद्वारा जारी विज्ञप्तिमा गैरकानूनी गतिविधि नियन्त्रण गर्न र सम्भावित दुर्घटना रोक्न सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र तथा प्रमाणहरू बुझाइएको उल्लेख छ। आगामी दिनमा यस्ता कार्य निरुत्साहित गर्न, जनचेतना फैलाउन र सरोकारवालालाई थप जिम्मेवार बनाउन संघले सञ्चारमाध्यम तथा आम नागरिकलाई आग्रह गरेको छ।
