भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा कार दुर्घटनापछि लागेको आगोमा परी ६ जनाको ज्यान गएको छ। पानीपत–खटिमा सडकखण्डमा पर्ने जगहेडी ओभरब्रिज नजिकै सोमबार बिहान भएको दुर्घटनामा कार पहिले सडकको डिभाइडरमा ठोक्किएको थियो। त्यसपछि कार विद्युत् खम्बामा समेत ठोक्किँदा आगलागी भएको हो।
आगो लागेपछि कारभित्र रहेका यात्रुहरू बाहिर निस्कन सकेनन्। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइतेहरूलाई उद्धार गरेर अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा ६ जनाको मृत्यु भएको जनाइएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुने सबै हरियाणाको हिसारका बासिन्दा हुन्। उनीहरू कुन प्रयोजनले यात्रा गरिरहेका थिए भन्ने विवरण भने सार्वजनिक भइसकेको छैन।
दुर्घटनापछि सडकमा केही समय आवागमन प्रभावित भएको थियो। प्रहरीले आगलागीको कारण र दुर्घटनाको विस्तृत विवरणबारे अनुसन्धान गरिरहेको छ।
