काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित महाराजगन्जमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ । दुर्घटना सोमबार बिहान भएको हो ।
मृत्यु हुनेमा काठमाडौं–२९ मैतीदेवी घर भएका १८ वर्षीय रुद्राक्ष बस्नेत छन् । बसुन्धाराबाट सुकेधारातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०० ६ ख ६७६६ नम्बरको बस र टिचिङ अस्पतालबाट बाँसबारीतर्फ जाँदै गरेको बा.प्रदेश–०२–०६३ प ८२९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार दुर्घटनापछि मोटरसाइकल चालकलाई उपचारका लागि नजिकै रहेको मेट्रो अस्पताल पठाइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
बस चालक भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ३५ वर्षीय गणेश हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
