काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार उल्लेख्य रूपमा बढेको छ । कच्चा तेलको मूल्य घट्नु, अमेरिकी डलर कमजोर बन्नु र मुद्रास्फीतिको चिन्ता केही हदसम्म कम हुनुले सुनको भाउ उकालो लागेको हो ।
रोयटर्सका अनुसार सोमबार बिहान ४ बजेर २८ मिनेट ग्रिनविच समयसम्म सुनको मूल्य प्रतिऔंस १.४ प्रतिशतले बढेर ४ हजार १२३.४६ अमेरिकी डलर पुगेको थियो । अमेरिकामा डिसेम्बरमा कारोबार हुने सुनको मूल्य पनि १.४ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार १३२.७० डलर पुग्यो । गत साता पनि अन्तर्राष्ट्रिय बजारमा सुन करिब ५ प्रतिशतले महँगिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण हुने सम्भावना अत्यन्त कम रहेको बताएपछि कच्चा तेलको मूल्य घटेको हो । इरानसँगको द्वन्द्व अन्त्य गर्ने विषयमा वार्ता चलिरहेका बेला ट्रम्पको भनाइले मध्यपूर्वको तनाव थप चर्किने र विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउने सम्भावना कम भएको संकेत दिएको छ । तेल सस्तिँदा मुद्रास्फीतिको दबाब घट्ने अपेक्षा गरिएको छ, जसले केन्द्रीय बैंकहरूले ब्याजदर लामो समयसम्म उच्च राख्नुपर्ने सम्भावना पनि घटाउँछ ।
केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटरका अनुसार ट्रम्पको तुलनात्मक रूपमा नरम अभिव्यक्तिले तेलको मूल्य नियन्त्रणमा राख्न सहयोग गरेको छ । अमेरिकी डलरमा आएको सामान्य गिरावटले पनि सुनलाई साथ दिएको उनको भनाइ छ । डलर कमजोर हुँदा अन्य मुद्रा प्रयोग गर्ने देशका लगानीकर्ताका लागि सुन खरिद सस्तो पर्छ, जसले माग बढाउन सहयोग गर्छ ।
यद्यपि, अमेरिकी अर्थतन्त्रका पछिल्ला तथ्यांकले सुनमा अर्को दबाब पनि देखिएको छ । अक्टोबरमा अमेरिकामा रोजगारी वृद्धि अपेक्षाभन्दा तीव्र रह्यो भने बेरोजगारी दर घटेर ४.१ प्रतिशतमा झरेको छ । सीएमईको फेडवाच टुलका अनुसार डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावना ७१ प्रतिशतबाट बढेर ८१ प्रतिशत पुगेको छ । अब लगानीकर्ताको ध्यान मंगलबार सार्वजनिक हुने उपभोक्ता मूल्य सूचकांक र शुक्रबार सार्वजनिक हुने उत्पादक मूल्य सूचकांकमा केन्द्रित छ । यदि मुद्रास्फीति अपेक्षाभन्दा बढी देखिएमा डलर बलियो बन्ने र सुनको मूल्यमा पुनः दबाब पर्न सक्ने विश्लेषक वाटरले बताएका छन् ।
सुनसँगै अन्य बहुमूल्य धातुको मूल्य पनि सोमबार बढेको छ । चाँदीको मूल्य २.५ प्रतिशतले बढेर प्रतिऔंस ५३.१५ डलर पुगेको छ । प्लाटिनम १.३ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ५५३.२३ डलर र प्यालेडियम २.१ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ४५.११ डलर पुगेको छ ।
