अर्घाखाँची । नेवार समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सम्पदाका रूपमा पुस्तौँदेखि जीवित छ ।
सन्धिखर्क र भूमिकास्थान नगरपालिकाका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले फरकफरक वर्षमा यो नाच निकाल्ने परम्परा कायम राखेका छन् । यस वर्ष भूमिकास्थान–८ को नुवाकोट भैरव समाजले नाच प्रदर्शन गरेको छ ।
भैरव नाचको आफ्नै धार्मिक विधि र समय सीमा छ । अर्घाखाँचीमा श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने यो नाच कात्तिक औँसीसम्म प्रदर्शन गर्ने चलन छ । अर्घाखाँची भैरव नाच संरक्षण समितिका संयोजक राजकुमार श्रेष्ठका अनुसार देउसी–भैलोको मादल बज्नुअघि नै भैरव नाच विसर्जन गरिसक्नुपर्ने स्थानीय मान्यता छ ।
नाचमा काल भैरव मुख्य पात्रका रूपमा प्रस्तुत हुन्छन् भने श्वेत भैरव र रक्त भैरव सहायक पात्रका रूपमा रहन्छन्, र उनीहरूसँगै डंकिनी अर्थात् नर्तकीको भूमिका पनि महत्वपूर्ण हुन्छ । कलाकारलाई परम्पराअनुसार ख्वापः अर्थात् खप्पर, विशेष कपडा, माला र चमरले सजाइन्छ ।
यस नाचको अर्को विशिष्ट पक्ष सात तालको लय हो । अर्घाखाँची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठका अनुसार एउटा ताल करिब १० मिनेटसम्म चल्ने गर्छ । मुख्य बाजाका रूपमा खीं बाजा अर्थात् मिर्दुङ प्रयोग गरिन्छ भने झुर्मा अर्थात् झ्याली, सहनाई र धंकुरीलगायतका बाजा बजाइन्छन् ।
सन्धिखर्कको टुँडिखेलमा आयोजना हुने भैरव नाच अवलोकन गर्न हजारौँ दर्शक उपस्थित हुने गरेका छन्, र यो नाच गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु र रुपन्देहीमा पनि लोकप्रिय छ । तर बदलिँदो जीवनशैली र आधुनिक मनोरञ्जनका कारण परम्पराको निरन्तरतामा चुनौती थपिँदै गएको छ, र धार्मिक विधि, सात तालको ज्ञान तथा बाजा बजाउने सीपबारे नयाँ पुस्तालाई सिकाउनु आवश्यक रहेको संयोजक श्रेष्ठको भनाइ छ ।
