काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
यो सिजन पोखराले पहिलो पटक दिनको खेल खेल्न लागेको हो । टोलीले आज तीन खेलाडी परिवर्तन गरेको छ । सागर ढकाल, सुदिप अर्याल र सदिरा समाराविक्रमाको स्थानमा सन्नी विक, विवेक राना मगर र धनन्जय लक्षण पहिलो रोजाइमा परेका छन् ।
कर्णालीले पनि दुई परिवर्तन गरेको छ । हुसेन तलतको स्थानमा जिशन आलम र युनिश विक्रम शाही ठकुरीको स्थानमा युवराज खत्रीले मौका पाएका छन् ।
पोखरा लगातार चार खेल हारेपछि पहिलो जितको खोजीमा छ । अर्कोतर्फ चार खेलमा दुई जित र दुई हारको नतिजा निकालेको कर्णाली तेस्रो जित निकाल्दै प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।
दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ । जितले पोखरालाई प्रतियोगितामा फर्कने बाटो खोल्नेछ भने कर्णालीलाई माथिल्लो स्थानतर्फ अगाडि बढ्न मद्दत गर्नेछ ।
