नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुवै भिडन्त प्लेअफको दौडमा रहेका टोलीका लागि निर्णायक बन्ने देखिएको छ।
दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको कर्णाली प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। अर्कोतर्फ चारै खेल हारेर अंकविहीन रहेको पोखरालाई प्रतियोगितामा टिकिरहन जितको खाँचो छ। कर्णालीले यसअघि जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किङ्सलाई चार विकेटले हराएको थियो। पोखरा भने सुदूरपश्चिम, जनकपुर, लुम्बिनी र चितवनसँग पराजित भएको छ।
बेलुका पाँच बजे हुने दोस्रो खेलमा चितवन राइनोजले काठमाण्डु गोर्खाजको सामना गर्नेछ। चितवनले चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन खेलबाट पाँच अंक बनाएको छ। काठमाण्डुले भने पछिल्ला तीन खेल लगातार जित्दै लय समातेको छ। उसले कर्णाली, विराटनगर र लुम्बिनीलाई हराएको छ।
अहिलेसम्म १८ खेल सम्पन्न हुँदा लुम्बिनी लायन्स, काठमाण्डु गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज शीर्ष चारमा छन्। लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछ र शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। आइतबारसम्मको तालिकामा काठमाण्डु दोस्रो, चितवन चौथो, कर्णाली छैटौँ र पोखरा अन्तिम स्थानमा छ। काठमाण्डु विजयी भए आठ अंकसहित आफ्नो स्थान थप बलियो बनाउनेछ भने चितवन जिते सात अंक पुग्नेछ।
अघिल्ला दुई संस्करणमा कर्णाली र पोखराबीच दुई खेल भएका छन् र दुवैले एक–एक खेल जितेका छन्। त्यस्तै काठमाण्डु र चितवनबीचको प्रतिस्पर्धा पनि अहिलेसम्म बराबरी छ।
