पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ संस्मरण नोभेम्बर १७ मा सार्वजनिक हुने भएको छ। स्वास्थ्य अवस्था र क्यान्सरको उपचारका कारण उनले पुस्तकको प्रचार तथा सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिति सीमित राख्ने बताएका छन्।
८३ वर्षीय बाइडेनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै केही दिन राम्रो हुने र केही दिन निकै कठिन हुने बताए। उपचारले आफूलाई पूर्ण रूपमा नरोक्ने भए पनि कहिलेकाहीँ गति सुस्त बनाउने उनको भनाइ छ। पुस्तकबारे आफूले जति अन्तरक्रिया र छलफल गर्ने आशा राखेको थिएँ, त्यति गर्न नसक्ने उनले स्वीकार गरे। उनका चिकित्सकहरू भने अहिलेसम्मको उपचारको नतिजाप्रति उत्साहित र आशावादी रहेको उनले उल्लेख गरे।
गत वर्ष बाइडेनमा प्रोस्टेट क्यान्सर पुष्टि भएको थियो, जुन पछि हड्डीसम्म फैलिएको थियो। त्यसयता उनी रेडिएसन थेरापी गराइरहेका छन् भने छालाको क्यान्सरको शल्यक्रियासमेत गराएका छन्।
‘प्रोमिस मी, अमेरिका’ नामक यो संस्मरणका लागि उनले गत वर्ष एक करोड डलरमा अधिकार बिक्री गरेका थिए। क्यान्सरको निदान भएलगत्तै उनले पुस्तक लेख्न थालेका थिए। यसमा उनको राष्ट्रपतीय कार्यकाल, कोरोना महामारीको व्यवस्थापन, अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता, युक्रेन युद्ध र सन् २०२१ जनवरी ६ को क्यापिटल हिल आक्रमणपछिका घटनाक्रम समेटिएका छन्।
बाइडेनका अनुसार यो पुस्तक अमेरिका कस्तो राष्ट्र हो, केका लागि उभिन्छ र विश्वमा अमेरिकाको भूमिका के हो भन्ने विषयमा केन्द्रित छ। अमेरिकी जनता तथा स्व-शासन र प्रजातन्त्रको महान् प्रयोगप्रतिको आफ्नो विश्वास नै पुस्तकको मूल आधार रहेको उनको भनाइ छ।
