कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा फेरि सुख्खा पहिरो खसेपछि मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।
आइतबार खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो। तर सोमबार अपराह्न सोही ठाउँमा फेरि पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ। सडक अवरुद्ध भएपछि पोखरा–बागलुङ खण्डमा दुवैतर्फका सवारीसाधन रोकिएका छन् र यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन्।
वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरो हटाएर सडक खुलाउने काम भइरहेको छ। केहीबेरमा एकतर्फी यातायात सञ्चालनमा आउने भए पनि दुवैतर्फी सवारी खुलाउन अझै केही समय लाग्ने उनले बताए।
पहिरो पन्छाउने काम जारी रहेकाले प्रहरीले यात्रुलाई वैकल्पिक व्यवस्था मिलाउन र सडक खुल्नेबारे आधिकारिक जानकारी पर्खन आग्रह गरेको छ।
