भद्रपुर । झापाका प्रमुख बजार दिनप्रतिदिन फराकिला हुँदै गएका छन् । व्यापारिक भवन, होटल र आवासीय संरचना थपिँदै जाँदा व्यापार र सहरीकरण दुवै तीव्र बनेको छ । तर बजारको यो विस्तारसँगै आगलागी नियन्त्रणका लागि चाहिने पूर्वाधार विस्तार हुन सकेको छैन ।
बिर्तामोड नगरपालिका–४ मा सिद्धार्थ होटलनजिकै बुधबार बिहान राजेश मण्डलको दुईतले घरमा लागेको आगोले यो कमजोरी उजागर गरेको छ । आगो नियन्त्रण गर्न जिल्लाका सातवटा दमकल परिचालन गरिए पनि पानीको व्यवस्था गर्न निकै कठिन भयो । साढे पाँच घण्टापछि नियन्त्रणमा आएको आगलागीबाट करिब छ करोड रुपैयाँ बराबरको क्षति भयो । दमकलले नजिकै पानी भर्ने निश्चित स्रोत नपाएपछि अन्ततः होटलको स्विमिङ पुलबाट पानी तान्नुपर्यो । बिर्तामोड दमकलका इञ्चार्ज नवीन मेचेका अनुसार प्रयोग भएको कुल पानीको करिब ५० प्रतिशत त्यही पुलबाट आपूर्ति गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत भदौ र असोजमा झापामा १९ वटा आगलागीका घटना दर्ता भएका छन्, जसबाट १० करोड ७८ लाख ९२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको छ । भदौमा सात घटनाबाट १२ लाख १० हजार र असोजमा १२ घटनाबाट १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँको क्षति भयो ।
बिर्तामोड, भद्रपुर र दमक गरी तीनवटै प्रमुख सहरी क्षेत्रमा दमकलले बजारमै पानी भर्न सक्ने फायर हाइड्रेन्टको व्यवस्था छैन । भद्रपुरमा नगरपालिका परिसरको चार इन्चको मोटरबाट पानी भरिने गरे पनि विद्युत् अवरुद्ध हुँदा मोटर चल्दैन, र दमकमा पानी भर्ने स्थान बजारबाट टाढा छन् ।
जिल्लाका सबै स्थानीय तहमा दमकल सेवा पनि छैन । दक्षिणी क्षेत्रका झापा गाउँपालिका, कचनकवल र गौरीगञ्जमा आगलागी हुँदा बिर्तामोड, भद्रपुर वा दमकबाट दमकल बोलाउनुपर्छ । अर्जुनधारा नगरपालिकाले नयाँ दमकल खरिद प्रक्रिया अघि बढाएको छ ।
