गत अगस्ट ७ मा सिनेमाघरमा रिलिज भएको फिल्म ‘हनुमान अंश’ प्रदर्शनको करिब चार महिनापछि नोभेम्बर २७ देखि सोनी लिभमा डिजिटल मञ्चमा आउने भएको छ।
साढे दुई करोड रुपैयाँको सानो बजेटमा बनेको यो फिल्मले ४५० करोड रुपैयाँभन्दा बढी कमाउन सफल भएको छ। विभिन्न अवरोधहरू पार गर्दै बक्स अफिसमा अनपेक्षित सफलता हात पारेको यो फिल्म सन् २०२६ को सर्वाधिक कमाउने हिन्दी फिल्महरूमध्ये एक बनेको छ।
नीम करौली बाबाको जीवनीमा आधारित यस फिल्मको हल यात्रा सुरुमा केवल ६० शो र ९ लाख रुपैयाँको सङ्कलनबाट सुरु भएको थियो। दर्शकहरूको सकारात्मक प्रतिक्रियाका कारण फिल्मले विस्तारै गति लियो। ‘रामायण’ जस्ता नयाँ फिल्महरूले हल ओगटिसक्दा पनि ९० दिन पूरा गरिसकेको यो फिल्म अझै पनि केही सीमित स्थानमा चलिरहेको छ।
फिल्मलाई निर्देशक विशाल चतुर्वेदी र तीनजना निर्माताहरूले मिलेर निर्माण गरेका थिए। तर निर्माताहरूमध्येकी एक अनुप्रिया नागर २१ वर्षकै उमेरमा फिल्म निर्माण गरेको भन्दै सञ्चारमाध्यममा चर्चामा आउन थालेपछि निर्माताहरूबिच विवाद सुरु भएको बताइएको छ। अन्य निर्माताहरूका अनुसार उनले फिल्मको पोस्ट-प्रोडक्सन चरणमा मात्र प्रवेश पाएकी थिइन् र उनले पाएको चर्चा अस्वाभाविक थियो।
त्यसपछि निर्देशक विशाल चतुर्वेदी र प्रारम्भिक निर्माताहरूमध्येकी एक नम्रता सिंहले एक संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू मात्रै फिल्मको जनसम्पर्क, बजारीकरण, पुरस्कार र साझेदारी सम्हाल्न आधिकारिक व्यक्ति भएको स्पष्ट पारेका छन्। निर्माताहरूबिचको यो आन्तरिक मतभेदका कारण फिल्मको आगामी भागहरू प्रभावित हुन सक्ने अनुमान गरिएको छ। ‘हनुमान अंश’ लाई सुरुमा तीन भागको शृङ्खलाका रूपमा परिकल्पना गरिएको थियो, जसअन्तर्गत नीम करौली बाबाको जीवनका विभिन्न पक्षहरूलाई थप दुई फिल्ममा देखाउने योजना थियो।
