तिहारमा भाइमसलाको मूल्य बढेका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन्। विगतका तिहारमा जस्तो यसपटक भाइमसलाको कारोबार कम भएको उनीहरूको भनाइ छ।
भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल भित्रिएसँगै भाइमसलाको मूल्यमा वृद्धि भएको हो। विशेषगरी पिस्ता र बदामको मूल्य केही बढेको छ। गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएका हुन्। सोही कारण ओखर र नरिवललगायतका सामग्रीमा प्रतिकिलो एक सयदेखि एक सय पचास रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले जानकारी दिएका छन्।
मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ। पहिले एक किलो भाइमसला किन्ने ग्राहकले आधा किलो तथा आधा किलो किन्ने ग्राहकले दुई सय वा एक सय ग्राम मात्र खरिद गर्ने गरेका छन्। व्यवसायीहरूले मूल्यका कारण खपत कम भएको बताएका छन्।
तिहारको भाइटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा लामो समयदेखि चल्दै आएको छ। मूल्य वृद्धिका कारण खपतमा केही कमी देखिए पनि व्यापार सन्तोषजनक रहेको व्यवसायीहरूको भनाइ छ।
यसैबीच, तिहारमा ढाकाटोपीको बिक्री भने उत्साहजनक रहेको व्यवसायीहरूले बताएका छन्। तिहारमा दाजुभाइलाई ढाकाटोपी लगाइदिएर टीका लगाउने परम्परा रहेको छ। सामान्य समयको तुलनामा तिहारमा ढाकाटोपीको बिक्री दुई देखि तीन गुणासम्म बढेको छ। ग्राहकको मागलाई ध्यानमा राख्दै व्यवसायीहरूले विभिन्न डिजाइन र गुणस्तरका ढाकाटोपी पर्याप्त मात्रामा मौज्दात राखेका छन्।
