उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित बहेर्वाचोकमा मंगलबार दिउँसो विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको ईभी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक राजकुमार खड्काको नेतृत्वमा ११ जनाको टोली घटनास्थल पुगेको थियो। टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पुर्याएको प्रहरीले बताएको छ।
घाइतेमध्ये पाँच जनाको अवस्था मध्यम छ। चालक काठमाडौं महानगरपालिका–३२ का ४२ वर्षीय कृष्ण केसी, झापा सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाई, मोरङ उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरी इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल र उदयपुर बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रबिन तामाङ मध्यम घाइते भएका हुन्।
बाँकी पाँच जना सामान्य घाइते छन्। रेणुका प्रसाईका १४ वर्षीय छोरा नैन प्रसाई, मोरङ सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरी इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रन्जिता गौतम, उदयपुर चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
