काठमाडौं । क्यारिबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी सम्बन्धलाई अपराध ठहर गर्ने शताब्दी पुरानो कानुन खारेज भएको छ। बेलायतको सर्वोच्च पुनरावेदन निकाय जुडिसियल कमिटी अफ द प्रिभी काउन्सिलले मंगलबार तल्लो अदालतको फैसलालाई सदर गर्दै उक्त कानुन संविधानविपरीत रहेको ठहर गरेको हो।
यसअघिको कानुनअनुसार पुरुषबीचको समलिंगी सम्बन्धमा पाँच वर्षसम्म कैद र ‘अशोभनीय व्यवहार’ का नाममा दुई वर्षसम्मको सजायको व्यवस्था थियो। न्यायाधीश फिलिप सेल्सले व्यक्तिको अधिकार र स्वतन्त्रताप्रति सम्मान गर्ने समाजमा यस्ता कानुनको कुनै औचित्य नरहने बताए। सहमतिका आधारमा वयस्कबीच निजी रूपमा हुने सम्बन्धलाई अपराध मान्न नमिल्ने उनको भनाइ थियो।
यो कानुनको इतिहास औपनिवेशिक युगसँग जोडिएको छ। बेलायतका राजा हेनरी आठौँको शासनकालमा १५०० को दशकमा बनेको कानुनलाई ब्रिटिस साम्राज्यले सन् १९२५ मा ट्रिनिडाड एन्ड टोबागोमा लागू गरेको थियो। सन् १९८६ मा नयाँ यौन अपराधसम्बन्धी कानुन आउँदा पनि प्रतिबन्ध कायमै रह्यो।
मुद्दा एलजीबीटीक्यू अधिकारकर्मी जेसन जोन्सले दायर गरेका थिए। ट्रिनिडाडमा जन्मिएका तर बेलायतमा बस्दै आएका जोन्सले सन् २०१८ मा उच्च अदालतमा मुद्दा हालेका थिए। उच्च अदालतले उनको पक्षमा फैसला गरे पनि सन् २०२५ मा पुनरावेदन अदालतले त्यो उल्ट्याएको थियो, त्यसपछि उनी प्रिभी काउन्सिल पुगेका थिए।
अधिकारकर्मीहरूले यो फैसलाले जमैका, गुयाना, ग्रेनाडा र सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडिन्सजस्ता मुलुकमा पनि यस्ता कानुनविरुद्ध चुनौतीको बाटो खोल्ने बताएका छन्। ती मुलुकमा पुरुषबीचको समलिंगी सम्बन्ध अझै अपराध मानिन्छ। यद्यपि फैसला ट्रिनिडाड एन्ड टोबागोमै मात्र लागू हुनेछ।
