चीनले युरोपेली सङ्घसँगको व्यापारिक सम्बन्धलाई सन्तुलित र स्थिर बनाउन दुवै पक्षले मिलेर काम गर्नुपर्ने बताएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले सहकार्यले दुवै पक्षलाई फाइदा पुग्ने र टकरावले दुवैलाई नोक्सान हुने धारणा राखेका छन्।
मङ्गलबार फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग भएको टेलिफोन वार्ताका क्रममा वाङले यस्तो धारणा राखेका हुन्। चीन र युरोपेली सङ्घ दुवै एक–अर्काका प्रमुख व्यापारिक साझेदार रहेकाले स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका वाङले युरोपेली सङ्घको प्रमुख सदस्य राष्ट्रका रूपमा फ्रान्सले चीन र ईयूबीच सन्तुलित व्यापार सम्बन्ध विकास गर्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
पछिल्ला वर्षहरूमा चीन र युरोपेली सङ्घबीच व्यापार घाटा, सब्सिडी र बजार पहुँचजस्ता विषयमा मतभेद देखिँदै आएका छन्। यस्तो अवस्थामा दुवै पक्षबीच उच्चस्तरीय संवादले व्यापारिक तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विश्लेषकहरूले चीन र ईयूबीचको सहकार्य विश्व व्यापार प्रणालीको स्थिरताका लागि पनि महत्त्वपूर्ण रहेको बताउँदै आएका छन्। दुवै पक्षले वार्तामार्फत मतभेद समाधान गर्ने प्रयासलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
