काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वको नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देउसी–भैलो खेल्ने क्रममा मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच पुर्याउने खालका अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम कडाइका साथ नियन्त्रण गरिने स्पष्ट पारे ।
गृहमन्त्री गुरुङले यस्ता गतिविधिप्रति गृह मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै त्यस्ता क्रियाकलाप देखिएमा तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरे । उनले चाडपर्वको मौलिकता र सांस्कृतिक गरिमा जोगाउनु सबैको साझा दायित्व भएको बताए ।
तिहारको अवसरमा घरघरमा देउसी–भैलो खेल्ने परम्परा लामो समयदेखि चल्दै आएको छ । टोली बनाएर गीत गाउँदै र नाच्दै घरदैलोमा पुग्ने यो परम्परा नेपाली समाजको पहिचानसँग जोडिएको छ । तर पछिल्ला वर्षहरूमा कतिपय ठाउँमा यसको नाममा अमर्यादित व्यवहार देखिन थालेको गुनासो बढ्दै गएको छ ।
गृहमन्त्रीको आग्रहसँगै चाडपर्वलाई मर्यादित र सुरक्षित रूपमा मनाउन प्रहरीले पनि निगरानी बढाउने अपेक्षा गरिएको छ । उनले परम्पराको सम्मान गर्दै चाड मनाउन र कुनै पनि अनुचित गतिविधि देखिएमा नहिचकिचाई प्रहरीलाई जानकारी दिन सबैलाई अनुरोध गरे ।
