कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्न टर्की प्रस्थान गरेकी छन्। टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म चल्ने सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।
सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले प्रतिनिधिमण्डलको नेतृत्व सम्हाल्नेछिन्। यस क्रममा उनले उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
मन्त्री चौधरीले सम्मेलनमा जलवायु परिवर्तनले हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछिन्। नेपालजस्ता हिमाली मुलुकले भोगिरहेको जोखिमलाई विश्वमञ्चमा उजागर गर्नु उनको सहभागिताको मुख्य उद्देश्य रहेको सचिवालयले जनाएको छ।
त्यसैगरी, जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा प्रस्तुत गरिने भएको छ।
सम्मेलनमा नेपालले हिमाल र जलवायु वित्तको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ। मन्त्रीको यो भ्रमणले ती मुद्दामा नेपालको आवाज थप बलियो बनाउने अपेक्षा गरिएको छ।
