नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलका क्रममा दर्शकबीच झडप भएको छ।
आ–आफ्नो टोलीलाई समर्थन गर्ने क्रममा समर्थकबीच विवाद चुलिएपछि प्रहरीले झडपमा संलग्नहरूलाई मैदानबाहिर निकालेको छ। खेल चलिरहेकै बेला भएको घटनापछि मैदानमा प्रहरीको उपस्थिति बढाइएको थियो।
मंगलबारको खेल हेर्न त्रिवि क्रिकेट मैदान दर्शकले खचाखच भरिएको थियो। एनपीएलका खेलहरूमा पछिल्ला दिनमा दर्शकको ठूलो उपस्थिति देखिँदै आएको छ, र कीर्तिपुर मैदानमा समर्थकहरूको उत्साह हरेक खेलमा देखिने गरेको छ।
खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दै १२० रन बनाएको थियो। जनकपुर बोल्ट्सले जितका लागि १२१ रनको लक्ष्य पाएको छ। लिग चरणको यस खेलमा दुवै टोलीका समर्थक मैदानमा ठूलो संख्यामा उपस्थित थिए।
