काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्द लिङ्देनका विचार र शिक्षाले आजको समाजलाई पनि उत्तिकै मार्गदर्शन गर्ने बताएका छन्। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जयन्तीका अवसरमा उनले देश तथा विदेशमा रहेका किराँत धर्मावलम्बी र सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
उपराष्ट्रपति यादवले फाल्गुनन्दलाई धर्मलाई आस्थामा मात्र सीमित नराखी समाज सुधार, नैतिक अनुशासन, मानवता र लोककल्याणसँग जोड्ने युगद्रष्टा व्यक्तित्वका रूपमा स्मरण गरेका छन्। फाल्गुनन्दले प्रतिपादन गरेका सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई सकारात्मक परिवर्तनतर्फ डोर्याएको उनको भनाइ छ।
महागुरु फाल्गुनन्दले प्रवर्तन गरेको ‘सत्यधर्म मुचुल्का’लाई सामाजिक सुधारको महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा उल्लेख गर्दै उपराष्ट्रपतिले दाइजो प्रथा, फजुल खर्च, अन्धविश्वास र सामाजिक विकृतिविरुद्ध उनले चलाएको अभियानले नैतिक जीवनको संस्कार विकासमा योगदान पुर्याएको बताएका छन्।
मौलिक सांस्कृतिक पहिचानको संरक्षण गर्दै अन्य समुदायप्रति सम्मान, सहअस्तित्व र सद्भावको सन्देश फाल्गुनन्दले दिएको यादवले उल्लेख गरेका छन्। जयन्तीले विशेष गरी युवा पुस्तालाई नैतिक चरित्र निर्माण, सामाजिक उत्तरदायित्व र राष्ट्रसेवाको मार्गमा अग्रसर हुन प्रेरणा दिने उनको विश्वास छ।
