अमेरिकी प्रविधि दिग्गज माइक्रोसफ्टले आफ्नो कार्यबलको ठूलो हिस्सालाई स्वेच्छिक रूपमा कम्पनी छाड्ने अवसर दिने भएको छ। कृत्रिम बौद्धिकता (एआई) मा भइरहेको विशाल लगानीको खर्च धान्न र दैनिक सञ्चालन खर्चलाई नियन्त्रणमा राख्न कम्पनीले सोमबार करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको प्रस्ताव अघि सारेको हो।
यो सुविधा क्यानडा, भारत, बेलायत र संयुक्त राज्य अमेरिकामा कार्यरत कर्मचारीहरूका लागि खुला गरिएको छ। कम्पनीकी प्रमुख जनशक्ति अधिकारी एमी कोलम्यानले आन्तरिक सन्देशमार्फत कम्पनीबाहिर नयाँ बाटो खोज्न चाहने योग्य कर्मचारीलाई सहयोगसहित बाहिरिने विकल्प दिन यो कार्यक्रम ल्याइएको बताएकी छन्। रोयटर्सको अनुमानअनुसार कम्पनीको एक चौथाइभन्दा बढी कर्मचारीले यो प्रस्ताव रोज्न सक्छन्।
विन्डोज, कोपाइलट, एआई एक्सपेरियन्स, वित्त, मानव संसाधन, एक्सबक्स तथा विन्डोज प्लस डिभाइससँग आबद्ध कर्मचारी यो कार्यक्रममा सहभागी हुन पाउनेछन्। तर मार्केटिङ, कमर्सियल बिजनेस र सुरक्षा विभागका कर्मचारीलाई भने यसबाट बाहिर राखिएको छ।
डेटा सेन्टर र चिपमा अर्बौं डलर खर्च भइरहेको बेला खर्च व्यवस्थापन कम्पनीको मुख्य चुनौती बनेको छ। सन् २०२६ को क्यालेन्डर वर्षका लागि कम्पनीले पुँजीगत खर्चतर्फ १७५ अर्ब डलर छुट्याउने प्रक्षेपण गरेको छ। गत जुन ३० सम्म विश्वभर कम्पनीमा २ लाख २३ हजार पूर्णकालीन कर्मचारी थिए, जसका आधारमा ६० हजारको संख्या कुल कार्यबलको करिब २७ प्रतिशत हुन आउँछ।
यसअघि चालु वर्षको सुरुमा कम्पनीले अमेरिकाका करिब ९ हजार कर्मचारीलाई यस्तै प्रस्ताव गरेको थियो भने गत जुलाईमा एक्सबक्स व्यवसायको पुनर्संरचनाका क्रममा विश्वभर करिब ४ हजार ८ सय कर्मचारी कटौती गर्ने घोषणा भएको थियो। कम्पनीले पहिलो त्रैमासिक वित्तीय नतिजा बुधबार बजार बन्द भएपछि सार्वजनिक गर्ने तयारी गरेको छ।
