कञ्चनपुरमा प्रहरीले दुई दिनको कारबाहीमा १० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको छ। आइतबार र सोमबार गरी बरामद गरिएको सामानको कुल मूल्य १० लाख ४९ हजार ३८५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेश र जिल्ला प्रहरीको संयुक्त टोलीले आइतबार मात्र ५ लाख १७ हजार रुपैयाँ बराबरको सामान फेला पारेको थियो। त्यसमा साइकलका पाटपुर्जा, ट्युब, मिठाइ, मोटरसाइकल, माछा र पेय पदार्थ थिए। त्यसैगरी ३ लाख ७४ हजार २२५ रुपैयाँ बराबरका कपडा, खाद्यान्न र किरानाका सामान पनि नियन्त्रणमा लिइएको थियो।
सोमबार अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। प्रदेश र जिल्ला प्रहरीको संयुक्त टोलीले भीमदत्त नगरपालिका–१८ को कारागार रोडबाट १ लाख ५७ हजार रुपैयाँ बराबरको अवैध सामानसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–२ का ५० वर्षीय लप्टन चौधरी, वडा नम्बर ११ का किसनदत्त जोशी र वडा नम्बर १७ का लबराज चटौत रहेका छन्। उनीहरूको साथबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल, चेक स्पोकेट, ब्रेक र प्लाष्टिक बरामद गरिएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूमाथि थप कारबाही प्रक्रिया अघि बढाइएको छ।
