वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त निर्वाचनमा अनियमितता भएको जस्तो आफूलाई लागेको बताए।
ट्रम्पले आफूले निर्वाचनमा कुनै उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारे। तर मतगणनाको तरिका र मतदानको समयसीमा लम्ब्याइएको विषय असामान्य देखिएको उनको भनाइ थियो। उनले चुनावी प्रक्रिया समग्रमा कमजोर देखिएको टिप्पणी गरे।
यसैबीच ट्रम्पले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग आफ्नो सम्बन्ध राम्रो रहेको पनि बताए। ‘मलाई लुला मन पर्छ, उनीसँग मेरो सम्बन्ध राम्रो छ,’ उनले भने, ‘तर निर्वाचनको घटनाक्रम निकै खराब देखियो।’
ट्रम्पले ब्राजिल आफ्नो जिम्मेवारीको क्षेत्र नभएको पनि उल्लेख गरे। आफ्नो ध्यान अमेरिकाको शासन सञ्चालनमा केन्द्रित रहेको उनले बताए।
ब्राजिलको निर्वाचनमा ८० वर्षीय वामपन्थी नेता लुला चौथो पटक राष्ट्रपति निर्वाचित भएका हुन्। उनले लिबरल पार्टीका नेता तथा दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई झिनो अन्तरले पराजित गरेका थिए।
धाँधलीको आशंकालाई पुष्टि गर्ने कुनै प्रमाण भने अहिलेसम्म सार्वजनिक भएको छैन।
