नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका घुमुवा भएको दाबी गर्दै सर्वसाधारणसँग रकम असुल्ने गरेको आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति पर्साको पोखरिया नगरपालिका–५ का ५१ वर्षीय अशोककुमार वर्णवाल हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वर्णवालले आफू दुवै सुरक्षा निकायको घुमुवा भएको र सुरक्षाकर्मीसँग राम्रो सम्बन्ध रहेको बताउँदै भन्सार छली तथा चोरी–तस्करीका सामान सजिलै पास गराइदिने आश्वासन दिने गरेका थिए। रकम नदिए पक्राउ गराइदिने धम्की दिएर उनले रकम असुल्ने र बिचौलियाको काम गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले वर्णवाललाई गत कात्तिक ६ गते पोखरिया नगरपालिका–५ बाटै पक्राउ गरेको जनाएको छ। उनीमाथि कानुनबमोजिम म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
यसैगरी, वर्णवालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेवामा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुरक्षा निकायको नाम प्रयोग गरेर ठगी गर्ने यस्ता गतिविधिबारे सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
