नब्बे दशकका दर्शकको मनमा बसेको बलिउड फिल्म ‘मोहरा’ फेरि ठूलो पर्दामा देखिने भएको छ। अक्षय कुमार र रवीना टण्डनको चर्चित जोडी करिब ३२ वर्षपछि सिनेमा हलमा एकसाथ फर्किन लागेको हो। यो जोडी कुनै नयाँ चलचित्रबाट नभई पुरानै हिट फिल्मको पुनः प्रदर्शनमार्फत दर्शकमाझ आउन लागेको हो।
निर्माण कम्पनी त्रिमूर्ति फिल्म्स प्राइभेट लिमिटेडले आफ्नो युट्युब च्यानलमा भिडियो सार्वजनिक गर्दै ‘मोहरा’ पुनः रिलिज हुने जानकारी दिएको छ। दीपावलीको दुई दिनअघि, नोभेम्बर ६ मा यो फिल्म हलमा लाग्नेछ। सोही समयमा रणवीर कपूर, साई पल्लवी र यश अभिनीत ठूलो बजेटको फिल्म ‘रामायण’ पनि प्रदर्शनमा आउने भएकाले बक्स अफिसमा दुई फिल्मबीच रोचक प्रतिस्पर्धा देखिने अनुमान गरिएको छ।
सन् १९९४ मा प्रदर्शनमा आएको ‘मोहरा’ त्यस बेलाको सुपरहिट फिल्म हो। यसका गीत ‘तु चिज बढी है मस्त मस्त’, ‘सुबह से लेकर शाम तक’, ‘ऐ काश कहीँ ऐसा होता’ र ‘टिप टिप बरसा पानी’ आज पनि उत्तिकै लोकप्रिय छन्। ‘तु चिज बढी है मस्त मस्त’ गीतपछि रवीना बलिउडमा ‘मस्त मस्त गर्ल’का रूपमा चिनिन थालेकी थिइन्।
त्यस बेला करिब ३ दशमलव ७५ करोड भारुको लागतमा बनेको फिल्मले भारतमा १२ दशमलव ०२ करोड भारु नेट कमाएको थियो भने विश्वभरबाट २२ दशमलव ६५ करोड भारु आर्जन गरेको थियो। अक्षय र रवीनाका साथै सुनील शेट्टी, नसिरुद्दीन शाह र परेश रावलले पनि फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
