नेपाल र भारतका सीमा सुरक्षा निकायबीच सहकार्य बलियो बनाउने उद्देश्यसहित काठमाडौँमा द्विपक्षीय समन्वय बैठक सुरु भएको छ। बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ सम्म चल्नेछ। यो दुई पक्षबीचको दशौँ बैठक हो।
बैठकमा भाग लिन भारतीय सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघल प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँ आएका छन्। नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायदत्त पौडेलले गरेका छन्।
नेपालका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधि सहभागी छन्। भारतका तर्फबाट गृह तथा विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च अधिकारी सहभागी छन्।
बैठकमा सीमा सुरक्षा, सीमामा हुने अवैध कामको नियन्त्रण, मानव तस्करी, लागूऔषध ओसारपसार र अवैध हातहतियार नियन्त्रणमा भएका प्रयासको समीक्षा हुनेछ। दशगजामा भएको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मत र निर्माण, सीमावर्ती बासिन्दासँगको सम्बन्ध सुदृढ पार्ने तथा दुई बलको सहकार्य बढाउने विषयमा पनि छलफल हुनेछ। खुला सीमाबाट तेस्रो मुलुकका नागरिकको अवैध आवागमन कडाइका साथ रोक्ने र सीमा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गर्ने विषय पनि छलफलको सूचीमा रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
