इजिप्टको स्वतन्त्र समाचार वेबसाइट माडा मास्रकी प्रधान सम्पादक लिना अत्तालाहलाई अदालतले दोषी ठहर गर्दै ठूलो जरिबाना तिराउन र वेबसाइट बन्द गर्न आदेश दिएको छ। उनीमाथि इजाजतपत्रबिना वेबसाइट सञ्चालन गरेको आरोप लगाइएको थियो। अदालतको आदेशपछि केही घण्टासम्म हिरासतमा राखिएकी अत्तालाह जरिबाना बुझाएपछि रिहा भएकी उनका वकिलहरूले बताएका छन्।
कायरोको न्यु कायरोस्थित अदालतले अत्तालाहलाई ३० लाख इजिप्टियन पाउन्ड जरिबाना गरेको थियो। यो रकम करिब ५३ हजार ५०० अमेरिकी डलर वा ४० हजार १०० बेलायती पाउन्ड बराबर हो र उक्त कसुरका लागि तोकिएको अधिकतम जरिबाना हो। अत्तालाहले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएकी छन्।
अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले अदालतको निर्णयलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भनेको छ। संस्थाले यो फैसलालाई इजिप्टमा स्वतन्त्र पत्रकारिताका लागि कालो दिन भन्दै फैसला उल्ट्याउन माग गरेको छ। हाल इजिप्टमा २५ जना पत्रकार जेलमा रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ।
सन् २०१३ मा स्थापना भएको माडा मास्रले सन् २०१८ को कानुनपछि नियामक परिषद्सँग अनुमतिपत्रका लागि पटक-पटक आवेदन दिए पनि आवेदन अस्वीकार गरिए वा जवाफ नदिइएको जनाइएको छ।
मंगलबारको सुनुवाइमा न्यायाधीश मोहम्मद मुबारकले अत्तालाह, उनका आठ सदस्यीय प्रतिरक्षा टोली र मानवअधिकारकर्मी होसाम बगातलाई मात्र कोठामा बस्न दिई अरूलाई बाहिर निकालेका थिए। बगातका अनुसार न्यायाधीशले प्रतिरक्षा पक्षका माग अस्वीकार गर्दै आफ्नै तर्फबाट वकिल नियुक्त गरे र त्यसपछि जरिबाना तथा वेबसाइट बन्द गर्ने आदेश सुनाए।
माडा मास्रले जरिबाना बुझाएपछि अत्तालाह रिहा भएको जनाएको छ। सन् २०२४ को अर्को मुद्दामा उनलाई अनुपस्थितिमै एक वर्षको जेल सजाय सुनाइएको थियो, जसको पुनः सुनुवाइ नोभेम्बर ११ मा तोकिएको छ।
