अमेरिकी अनुसन्धानकर्ताहरूले अनुहारको तस्वीर हेरेर बिरामीको स्वास्थ्य अवस्था र सम्भावित जीवनकालबारे अनुमान गर्न सहयोग गर्ने कृत्रिम बुद्धिमत्तामा आधारित उपकरण तयार गरेका छन्। यस उपकरणलाई एफएएचआर–फेससर्भाइभल नाम दिइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यसलाई लाखौँ स्वस्थ व्यक्तिका अनुहारका तस्वीर र क्यान्सरका बिरामीका ३५ हजार तस्वीर प्रयोग गरेर प्रशिक्षण दिइएको थियो।
उपकरणले विशेष गरी आँखामुनिको भाग र दुवै आँखाबीच पर्ने नाकको माथिल्लो भागलाई नजिकबाट हेर्छ। ती भागमा देखिने सूक्ष्म परिवर्तनका आधारमा बिरामी कति समय बाँच्न सक्ने सम्भावना छ भन्ने अनुमान लगाइन्छ। विभिन्न चरणका क्यान्सर भएका बिरामीमा समेत यी सूचक उपयोगी देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। अध्ययनमा हड्डी वा मस्तिष्कसम्म क्यान्सर फैलिएका बिरामी पनि समावेश थिए। अधिकांश तस्वीर अमेरिका र नेदरल्यान्ड्सका ५० देखि ७० वर्ष उमेर समूहका बिरामीका थिए।
यद्यपि यो उपकरण अहिले नै अस्पतालमा नियमित प्रयोगका लागि तयार भइसकेको छैन। यसबारेको सुरुवाती प्रतिवेदन ल्यान्सेट हेल्थ जर्नलमा प्रकाशित भएको छ र पेटेन्टका लागि आवेदन दिइएको छ। बोस्टनस्थित मास जनरल ब्रिघम अस्पतालका प्रमुख अनुसन्धानकर्ता डा. रेमन्ड म्याकका अनुसार यसको उद्देश्य चिकित्सकको निर्णय बदल्नु होइन, विकिरण उपचार, शल्यक्रिया वा शरीरभरि असर गर्ने औषधीय उपचारमध्ये कुन उपयुक्त हुन्छ भन्ने छनोटमा सहयोग गर्नु हो।
अनुसन्धान टोलीले जैविक उमेर अनुमान गर्ने फेसएज नामको अर्को उपकरण पनि परीक्षण गरिरहेको छ। बेलायतको सरे विश्वविद्यालयका प्राध्यापक मिरोस्लाभ बोबरले भने यी नतिजा सुरुवाती चरणमा आशा जगाउने भए पनि अस्पतालमा प्रयोग गर्नुअघि विभिन्न जातीय समूहका थप तथ्याङ्क र चिकित्सकको आफ्नै आकलनसँग तुलना आवश्यक रहेको बताएका छन्।
