न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन ठूलो सास्ती भोगिरहेका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको प्राविधिक समस्या लम्बिँदा उनीहरू आर्थिक भार र प्रशासनिक झन्झटमा परेका छन्। आधारभूत सेवा लिनसमेत अस्ट्रेलिया वा नेपालसम्म पुग्नुपर्ने अवस्था बनेको छ।
गैरआवासीय नेपाली संघ न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्यालले विद्यार्थीहरूबाट धेरै गुनासो आउने गरेको बताएका छन्। राहदानी नवीकरण गर्न र आवश्यक कागजातसम्बन्धी सेवा लिन अस्ट्रेलिया वा नेपाल जानुपर्ने बाध्यताले समय र खर्च दुवै बढाएको उनको भनाइ छ। यसले विद्यार्थी तथा अन्य नेपालीको दैनिक जीवन र योजनामा समेत असर पारेको छ।
अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत तारा गौतमले राहदानी सेवा प्रभावित हुनुको मुख्य कारण प्राविधिक समस्या रहेको बताएकी छन्। राहदानी छपाइसम्बन्धी नयाँ ठेक्का जर्मन कम्पनीलाई दिइएको र प्रणाली सञ्चालनमा ल्याउन करिब तीन महिना लाग्ने उनले जानकारी दिइन्। समस्या समाधानको प्रक्रिया अपेक्षाभन्दा लामो हुन सक्ने भएकाले सेवा पूर्ण रूपमा सहज हुन अझै केही महिना लाग्न सक्ने उनको भनाइ छ।
दूतावासले समस्या समाधानका लागि नेपाल सरकारलाई जानकारी गराइसकेको छ। नवजात शिशुको राहदानी तथा अत्यावश्यक कामलाई प्राथमिकतामा राखेर सेवा दिने प्रयास भइरहे पनि सूचना प्रविधिसम्बन्धी समस्याका कारण त्यसमा समेत कठिनाइ भइरहेको गौतमले स्पष्ट पारिन्। उनले नागरिकलाई राहदानीको म्याद समयमै जाँच गर्न र अन्तिम समयमा मात्र नवीकरणको प्रक्रिया सुरु नगर्न आग्रह गरेकी छन्।
दूतावासले आगामी वर्षको सुरुदेखि घुम्ती सेवा सञ्चालन गर्ने योजना बनाएको छ। वर्षमा कम्तीमा दुई पटक यस्तो सेवा सञ्चालन गर्ने तयारी रहेको र यसबाट राहदानी नवीकरणलगायत आवश्यक कन्सुलर सेवा न्युजिल्यान्डमै उपलब्ध गराउन सकिने अपेक्षा दूतावासको छ।
