काठमाडौं — उज्यालो नेपाल पार्टी निर्वाचन आयोग पुगेर दुईवटा माग अघि सार्ने भएको छ। पार्टीले स्थानीय तहको निर्वाचन दलबिहीन ढाँचामा गरिनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउनुपर्ने व्यवस्था गर्न आग्रह गर्न लागेको हो।
पार्टीका अनुसार ज्ञापनपत्र बुझाउने कार्यक्रम आज अपराह्नका लागि तय गरिएको छ। अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा पार्टीको टोली आज दिउँसो ४:३० बजे कान्तिपथमा रहेको आयोगको केन्द्रीय कार्यालय पुग्नेछ र त्यहाँ आयोगका पदाधिकारीलाई ज्ञापनपत्र हस्तान्तरण गर्नेछ।
पार्टीको भनाइमा निर्वाचन प्रणालीलाई नागरिकका लागि अझ खुला र समावेशी बनाउन स्थानीय निर्वाचनलाई दलगत प्रतिस्पर्धाभन्दा माथि राख्नुपर्छ। स्थानीय तहमा विकास र सेवासँग जोडिएका विषयमा मतदाताले व्यक्तिको काम र क्षमताका आधारमा छनोट गर्न पाउनुपर्ने उसको तर्क छ।
त्यसैगरी रोजगारी वा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार पनि सुनिश्चित हुनुपर्ने पार्टीले माग गरेको छ। देशबाहिर रहेका नागरिक राज्यका निर्णय प्रक्रियाबाट टाढा रहन नहुने र उनीहरूको मत समेटिने व्यवस्था खोजिनुपर्ने पार्टीको अडान छ।
कार्यक्रममा समाचार संकलनका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।
