राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी महाधिवेशन नजिकिँदै गर्दा पार्टीका तीन जना शीर्ष नेताहरू एउटै मोर्चामा उभिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन पुनः अध्यक्ष बन्ने तयारीमा लागेका बेला उनलाई रोक्ने उद्देश्यसहित पूर्वअध्यक्षहरू कमल थापा र डा. प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे एक ठाउँमा आएका हुन्।
लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्ट रहेका यी नेताहरूले महाधिवेशनलाई लक्षित गर्दै मधेस र कोशी प्रदेशका जिल्लाहरूमा संयुक्त देश दौडाहा सुरु गरेका छन्। बुधबार पर्साको वीरगञ्जबाट शक्ति प्रदर्शनसहित अभियानको सुरुआत गरिएको हो।
राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा हुँदैछ। पार्टीले सक्रिय सदस्यता वितरणका लागि कात्तिक १८ गतेसम्मको समय तोकेको छ। वीरगञ्जबाट सुरु भएको अभियान बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै अध्यक्ष लिङ्देनको गृहजिल्ला झापा पुगेर कात्तिक १६ गते सकिने कार्यतालिका छ।
वीरगञ्जको पहिलो कार्यक्रममा थापा, लोहनी, पाण्डे र नेता राजीव पराजुलीलगायतले सम्बोधन गरेका थिए। नेताहरूले पार्टी कमजोर अवस्थामा पुगेको र त्यसलाई फेरि गतिशील बनाउनुपर्ने बताएका थिए। स्रोतका अनुसार महाधिवेशनमा लिङ्देनलाई दोहोरिन नदिन थापा र लोहनीले पाण्डेलाई साझा उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेका छन्।
राप्रपा नेता जनकराज पाठकले अभियान पूर्ण रूपमा महाधिवेशन केन्द्रित रहेको र तीन नेता महाधिवेशनसम्मै एकजुट भएर जाने बताए। असन्तुष्ट पक्षका नेताहरूका अनुसार वीरगञ्जको भेला रोक्न अध्यक्ष लिङ्देनले अन्तिम समयसम्म प्रयास गरेका थिए। उनले नेताहरूलाई छुट्टाछुट्टै फोन गरेर कार्यक्रममा नजान दबाब दिएको दाबी गरिएको छ। तर कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको बताइएको छ।
संस्थापन पक्षका स्थानीय नेताहरू भने कार्यक्रममा सहभागी भएनन्। पर्सा जिल्ला अध्यक्ष विना जैसवाल बिरामी परेको भन्दै अनुपस्थित रहिन्। असन्तुष्ट पक्षले लिङ्देनले एकलौटी ढंगले पार्टी चलाएको र सक्रिय सदस्यता वितरण प्रभावकारी बनाउन नसकेको आरोप लगाएको छ भने संस्थापन पक्षले असन्तुष्ट पक्षले अनावश्यक विवाद झिकेको बताउँदै आएको छ। राप्रपाले हालसम्म ७५ जिल्ला र ५ प्रदेश कार्यसमितिको अधिवेशन सम्पन्न गरिसकेको छ।
