वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षे कार्यकालको राजनीतिक दिशा तय गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुने यो निर्वाचनमा राजनीतिक विज्ञापनमा मात्रै करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट चाहिन्छ । हाल रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट भएकाले डेमोक्रेटलाई कम्तीमा तीन सिटको खुद लाभ चाहिन्छ । सिनेटका ३५ सिटमा पनि चुनाव हुँदैछ, जहाँ रिपब्लिकनसँग ५३ र डेमोक्रेट तथा दुई स्वतन्त्रसहित ४७ सिट छ । सिनेट लिन डेमोक्रेटलाई चार सिटको खुद लाभ आवश्यक छ ।
सर्वेक्षणमा डेमोक्रेट राष्ट्रिय स्तरमा अगाडि छन् । पीबीएस न्युज, एनपीआर र मेरिस्टको सर्वेक्षणमा डेमोक्रेटले ५३ र रिपब्लिकनले ४१ प्रतिशत समर्थन पाएका थिए । ट्रम्पको अनुमोदन दर ३२ देखि ४१ प्रतिशतबीच छ भने एनबीसी न्युजको सर्वेक्षणमा ५५ प्रतिशतले उनका नीतिले अर्थतन्त्रलाई हानि पुर्याएको बताएका थिए ।
एडइम्प्याक्टले विज्ञापन खर्च ११ अर्ब ६० करोड डलर पुग्ने र काइनेटिक पोलिटिकल इनसाइट्सले ११ अर्ब ९६ करोड डलर पुग्ने अनुमान गरेका छन् । सन् २०२२ मा आठ अर्ब ९० करोड डलर खर्च भएको थियो । क्यालिफोर्नियाको गभर्नर प्रारम्भिक चुनावमा मात्रै ३३ करोड डलर विज्ञापनमा खर्च भएको थियो ।
यस वर्ष कङ्ग्रेसका प्रारम्भिक चुनावमा दुई हजार ४९७ उम्मेदवार थिए । प्रतिनिधिसभाका ४४ ठाउँमा सन् २०२४ का प्रमुख उम्मेदवार फेरि भिड्दैछन्, र राज्य तथा स्थानीय चुनावसहित यस्ता पुनः भिडन्त ४७४ पुगेका छन् ।
