सुनसरीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले दस दिनको अवधिमा ठूलो परिमाणमा भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ। कात्तिक १ गतेदेखि १० गतेसम्म चलेको कारबाहीमा रु २५ लाख ४० हजार ९८३ बराबरका सामान बरामद भएका हुन्। सीमा क्षेत्रमा केन्द्रित यो कारबाहीमा विभिन्न ठाउँबाट भित्र्याइएका सामान फेला परेका हुन्।
सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरी र त्यस मातहतका युनिटबाट खटिएका टोलीले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएका थिए। सो क्रममा भारतबाट भन्सार छलेर ल्याइएका किराना सामान, लत्ताकपडा र सवारीसाधन फेला परेका हुन्। जिल्लाका विभिन्न सीमा क्षेत्रमा गरिएको जाँचका क्रममा ती सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मङ्गलबार मात्र बर्जु गाउँपालिका–६ को चिम्डी बजार क्षेत्रबाट रु १० लाख ५० हजार बराबरका लत्ताकपडा र दुईवटा मोटरसाइकल बरामद भए। गणका प्रमुख लवकुमार सापकोटाले सो जानकारी दिएका हुन्। उनका अनुसार टोलीले जिल्लाका विभिन्न सीमा क्षेत्रमा खोजतलास तथा जाँच गर्दा ती सामान भेटिएका हुन्।
बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
