मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेपछि बाँकेका किसान वर्षभरि खाने धान सकुशल भित्र्याउन हतारिएका छन्। काटिसकेर पनि भण्डारण गर्न नपाएको धान पानी परे भिज्ने डर छ भने काट्न बाँकी धान हुरीबतास र पानीले ढल्ने चिन्ता छ।
नेपालगन्ज उपमहानगरपालिका–१९ सुईयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीका अनुसार धानको बाला लामो समय भिजे बिग्रने जोखिम हुन्छ। विगतमा असोज र कात्तिकमा आएको बेमौसमी बाढी र वर्षाले तयारी अवस्थाको धानबाली नष्ट गर्दा किसानले क्षति व्यहोर्नुपरेको थियो। त्यसैले यसपालि किसान बिहानदेखि रातिसम्म खेतमै धान स्याहार्न लागिपरेका छन्।
दसैँका बेला खेतमा काम गर्ने मजदुर पाउन मुस्किल छ। थ्रेसर र ट्याक्टरजस्ता उपकरणको सुविधा लिन पनि सहज छैन। हतारमा काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्नसमेत समस्या भएको किसानको भनाइ छ।
गत असारमा लगाइएको धान पाकेर खेतमा पहेँलपुर झुलेको छ। खजुराका अगुवा किसान कृष्णविक्रम केसीका अनुसार विगतका वर्ष दसैँ सकिएपछि मात्रै धान भित्र्याउने समय आउँथ्यो, तर यसपालि दसैँ ढिला परेकाले धान पाक्ने र चाड मनाउने समय एकैपटक जुधेको छ।
आकाशमा अलिकति बादल मडारिँदा पनि किसानको धडकन बढ्ने गरेको केसीले बताए। मिहिनेतअनुसार धान राम्रो भए पनि समयमै घर नभित्र्याए असिना वा पानीले नोक्सान पुर्याउन सक्ने भएकाले किसान चाडपर्व बिर्सिएर धान भित्र्याउन लागेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गर्छ। यो वर्ष ३३ हजार ५०३ हेक्टरमा रोपाइँ भएको छ।
