विराटनगरका व्यापारी लालजी प्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये मुख्य अभियुक्त ३६ वर्षीय अफरोज आलम छन् भने अन्य दुई जना नाबालक छन्।
प्रहरीका अनुसार आलम विराटनगर महानगरपालिका–६ को स्वागत चोकका बासिन्दा हुन्। उनले सोही वडाको महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। शव ओसारपसार तथा व्यवस्थापनमा सहयोग गरेको आरोपमा १३ वर्षीय भारतीय र १६ वर्षीय नेपाली नाबालकलाई पनि नियन्त्रणमा लिइएको छ।
६९ वर्षीय गुप्ता विराटनगर–६ को धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए। भारतको वाराणसी स्थायी घर भएका उनी विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका थिए। उनी गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजेदेखि पसलबाट बेपत्ता भएका थिए।
खोजी भइरहेका बेला कात्तिक ८ गते आइतबार बिहान करिब १० बजे सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलीया खोलाको किनारमा भेटिएको शव गुप्ताकै भएको पहिचान भएको थियो। घटनाको गम्भीरता हेरेर तालिमप्राप्त कुकुरसहितको टोली खटाइएको थियो। सूक्ष्म अनुसन्धानपछि प्रहरीले कात्तिक १० गते साँझ ५ बजे संलग्नहरूको पहिचान गरी नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा विराटनगर–६ मा रहेको माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार आलमले चोरी गरेको भनी गुप्ताले हल्ला फैलाएको विषयमा विवाद सुरु भएको खुलेको छ। विवाद बढेपछि आलमले गुप्तालाई घरमै बोलाएर फलामको जिआई पाइप प्रहार गरी हत्या गरेको र दुई नाबालकको सहयोगमा शव केशलीया खोला किनारमा पुर्याएको प्रहरीले जनाएको छ। अभियुक्तहरूबाट उक्त पाइप, गुप्ताले प्रयोग गर्ने रेडमी कम्पनीको एक थान मोबाइल फोन र शव बोक्न प्रयोग गरिएको कार्पेट बरामद भएको छ। पक्राउ परेकाहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।
