काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले आफ्नो दलका सांसदहरू कुनै एक व्यक्तिको निर्देशनमा काम गरिरहेका छैनन् भन्ने स्पष्ट पारे। प्रत्येक सांसदले आफ्नो क्षमता, विवेक र बलका आधारमा काम गरिरहेको उनको भनाइ थियो। सांसदहरूको गतिविधि कुनै व्यक्तिविशेषको नियन्त्रणमा नरहेको उनले बताए।
सत्तारुढ दलकै सांसदहरूले सरकारको आलोचना गरेको विषयमा पनि खरेलले आफ्नो धारणा राखे। सरकारलाई सुझाव दिनु र कमजोरी सच्याउन दबाब दिनुलाई सरकार ढाल्ने कोसिसका रूपमा बुझ्न नहुने उनको तर्क थियो। सरकारलाई सबै विषय थाहा नहुने भएकाले कतिपय कुरा सरकारसम्म पुर्याउन सत्तापक्षका सांसदहरूले पनि प्रतिपक्षजस्तै प्रस्तुत हुनुपर्ने उनले बताए।
देशको विकास चाहने दलहरूले सरकार ढाल्ने काममा लाग्नुभन्दा सबैलाई मिलाएर अघि बढ्नुपर्ने उनको जोड थियो। तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने भन्ने प्रतिपक्षका भनाइप्रति उनले असहमति जनाए। जनताले पाँच वर्ष ढुक्कसँग सरकार चलाउन झन्डै दुई तिहाइ मत दिएको उल्लेख गर्दै उनले आफूलाई त्यस्ता भनाइमा विश्वास नलागेको बताए। सरकार ढले आफूहरू सत्तामा पुग्न सक्ने कल्पना गर्नु प्रतिपक्षका लागि स्वाभाविक भए पनि आफूहरूले देश चलाउन राजनीति गरेको र सांसद वा मन्त्री बन्न मात्र राजनीति नगरेको उनको भनाइ थियो। कतिपय गल्ती सरकारले नै स्वीकारेको प्रसंग पनि उनले उठाए।
