काठमाडौँ — पछिल्लो छ महिनाको अवधिमा सर्पको टोकाइबाट देशभर ११३ जनाले ज्यान गुमाएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को विवरणअनुसार वैशाखयता १ हजार ६४९ जनालाई सर्पले टोकेको छ।
पछिल्ला आर्थिक वर्षहरूको तथ्याङ्कले पनि जोखिम बढिरहेको देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा ९ हजार १२० घटना दर्ता भएकामा २०८०/८१ मा घटेर ८ हजार १८१ मा झरेको थियो। तर २०८१/८२ मा फेरि बढेर १० हजार १४४ पुगेको छ।
प्रदेशगत रूपमा हेर्दा २०८१/८२ मा कोशीमा सबैभन्दा धेरै २ हजार ९८३ घटना भए। लुम्बिनीमा २ हजार ४०७, गण्डकीमा १ हजार ४५६, मधेसमा १ हजार ३६६ र बागमतीमा १ हजार २३६ घटना दर्ता भए। सुदूरपश्चिममा ३७४ र कर्णालीमा ३२२ घटना देखिए। हाल देशभर १०३ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्।
ईडीसीडीको जुनोटिक तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार जलवायुमा आएको परिवर्तन, वन फँडानी र सर्प बस्ने ठाउँमा भएको बदलावले बिरामीको सङ्ख्या बढाएको हो। झारफुकले निको हुन्छ भन्ने विश्वास र सचेतनाको कमीका कारण धेरै बिरामी अस्पताल ढिलो पुग्ने गरेको उनले बताए।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले राति हिँड्दा टर्च बाल्न, जुत्ता वा गमबुट लगाउन, घर वरपर सफा राख्न, ओछ्यान जाँचेर झुल टाँगेर सुत्न सुझाव दिएको छ। सर्पले टोकेमा टोकेको भाग नचलाइकन स्थिर राख्न, काट्ने, चुस्ने वा बाँध्ने नगर्न, धामी–झाँक्रीकहाँ नलागी चाँडै अस्पताल पुर्याउन आग्रह गरिएको छ।
यसैबीच सरकारले ‘सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ लागू गरेको छ। कार्ययोजनाले उच्च जोखिम भएका क्षेत्रको पहिचान, एन्टिभेनमको पर्याप्त आपूर्ति, उद्धार तथा रेफरल प्रणाली बलियो बनाउने र स्वास्थ्यकर्मीको क्षमता बढाउने लक्ष्य राखेको छ।
