म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारका बासिन्दा आफ्नै श्रमदानबाट पहिरोले बिगारेका संरचना मर्मतमा लागेका छन्। खानेपानी, पदमार्ग र विद्युत् जस्ता आधारभूत सेवा फर्काउन गाउँलेहरू समूह बनाएर काम गरिरहेका छन्।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले पाउद्वारसँगै गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्तीहरू सम्पर्कविहीन भएका थिए। पहिरोले बाटो, खानेपानी र विद्युत् प्रणालीमा क्षति पुर्याएपछि दैनिक जीवन निकै कठिन बनेको थियो।
वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार तीनवटा टोलका छुट्टाछुट्टै समूहले मर्मतको काम गरिरहेका छन्। यसै हप्तादेखि विद्युत् सेवा सञ्चालनमा आएको छ भने घारदेखि पाउद्वार र पाउद्वारदेखि पर्यटकीयस्थल खोपारासम्मको पदमार्ग खुलेको छ। खानेपानी आपूर्ति सहज बनाउने काम पछिल्ला दिनमा भइरहेको छ। विद्युत् फर्काउन हेलिकप्टरबाट ट्रान्सफर्मर पुर्याइएको थियो।
स्थानीय हरि तिलिजाले सरकारी सहयोगको प्रतीक्षामा बस्दा ढिलाइ र सास्ती हुने भएकाले आफूहरूले गर्न सकिने काम श्रमदानबाटै गरेको बताए।
गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घारखोला, नेपाने, पाउद्वार, घिरबाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले निकै बिगारेको छ। सडकमा पैदल हिँड्नसमेत अप्ठ्यारो छ र खाद्यान्न बोक्ने खच्चर हिँडाउन सकिने अवस्था छैन। खच्चर र घोडाबाट सामान ढुवानी सहज बनाउन पदमार्ग मर्मत भइरहेको स्थानीय जसे पुनले बताए।
पाउद्वारमा दुई सयभन्दा बढी घर छन् र चारवटा टोलमा यसअघि १७० घरपरिवार बस्थे। विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएकासहित विस्थापित परिवार आश्रयस्थलबाट आफन्त र छिमेकीका घरमा सरेका छन्। बाटो र सेवा अवरुद्ध भएपछि बासिन्दा गाउँमा सहज रूपमा बस्न सकिनेमा ढुक्क छैनन्। आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने चिन्तासँगै उनीहरू तत्काल राहत र दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन्।
