सिरहाको औरही गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ११ बजे औरही गाउँपालिका–२ स्थित देउरीपट्टी स्कुल नजिकैबाट उनीहरू पक्राउ परेका हुन्।
नियन्त्रणमा लिइएकामा औरही गाउँपालिका–२ तुलसीपुरका ५३ वर्षीय छेदी दास र बरियारपट्टी गाउँपालिका–३ शिवनगरका ६५ वर्षीय शंकर यादव छन्। प्रहरी चौकी हकपाराबाट खटिएको टोली गस्तीमा रहेका बेला उनीहरू उत्तरबाट दक्षिणतर्फ कालो प्लास्टिकका पोका बोकेर हिँडिरहेको देखिएको थियो।
शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले जाँच गर्न खोज्दा उनीहरू भाग्न खोजेको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर पोका जाँच गर्दा गाँजाका पाँचवटा पोका फेला परे। ती पोकामा रहेको गाँजा तौल गर्दा ८४ किलो ५९० ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद गाँजासहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
