काठमाडौंमा अहिले प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ५’ का मुख्य कलाकार दयाहाङ राई पछिल्लो समय नेपाली फिल्म क्षेत्रका सबैभन्दा व्यस्त अभिनेतामध्ये पर्छन्। उनका फिल्महरू एकपछि अर्को प्रदर्शनमा आउने र नयाँ फिल्मको छायाङ्कन सुरु हुने क्रम निरन्तर चलिरहेको छ। त्यही व्यस्त तालिकाबीच उनले अर्को फिल्मको काम पनि पूरा गरेका छन्।
मंगलबार कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ ताङतिङमा फिल्म ‘बुकी फूल’ को अन्तिम दृश्य खिचियो। अन्तिम दृश्यको छायाङ्कनसँगै फिल्मको छायाङ्कन सकिएको घोषणा गरियो। ऐतिहासिक कथावस्तुमा बनेको यो फिल्म गुरुङ समुदायको सभ्यता, संस्कृति र संस्कारमा केन्द्रित छ।
फिल्मको परिकल्पना गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम) ले गरेका हुन्। अभियान फिल्म्स प्रोडक्सन प्रा. लि. पोखराको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन्।
फिल्ममा दयाहाङसँगै पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ र प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।
