अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएसँगै नाइजेरियामा सन् २०१४ पछिको पहिलो इबोला घटना दर्ज भएको हो ।
नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार सङ्क्रमित महिलालाई छुट्टै एकान्तवासमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ ।
यता केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । पहिलो सङ्क्रमितको नजिकका परिवार सदस्यमा नवौँ सङ्क्रमण पुष्टि भएको हो । यसैबीच युगान्डाले आफ्नो देशमा सक्रिय सङ्क्रमण नरहेको जनाएको छ ।
मे महिनामा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सुरु भएको यो प्रकोपबाट नौ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने चार हजार ३८१ जनाको मृत्यु भएको छ । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महानिर्देशक जीन कासेयाले प्रकोपलाई गम्भीर खतरा भन्दै अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक सहायता, औषधि र स्वास्थ्यकर्मी उपलब्ध गराउन आग्रह गरेका छन् ।
