बर्दिया । वर्षभरि प्रतीक्षा गरिने बडादसैँ यस वर्ष बर्दियाका कतिपय घरपरिवारका लागि आँसुको चाड बनेर आएको छ । भोटेकोशी नदीको बाढीमा आफन्त बेपत्ता भएपछि उनीहरूको घरमा टीका–जमराको रौनक होइन, पुनर्मिलनको आशा र विछोडको पीडा छ ।
गेरुवा गाउँपालिका–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुको जीवनमा यस वर्षको दसैँ कहिल्यै नभएको जस्तै रह्यो । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले छोरा जगत थारुलाई बगाएपछि उनी झण्डै डेढ महिनादेखि छोराकै पर्खाइमा छिन् । विगतमा छोराछोरीसँगै बसेर टीका लगाउने उहाँको यसपालिको दसैँ भने खाली निधारमै बित्यो ।
राजापुर–९ तिनघरवाकी सिर्जना थारुको कथा पनि उस्तै पीडादायी छ । श्रीमान् प्रदीप थारु उही बाढीमा बेपत्ता भएपछि उहाँले यस वर्षको दसैँ गहिरो निराशामा बिताउनुपरेको छ । “श्रीमान् कहाँ हुनुहुन्छ भन्ने थाहा छैन,” उनी भन्छिन्, “यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउने ?”
भोटेकोशीको बाढीमा गेरुवा–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारुसहित चार जना तथा राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारुसहित पाँच जना गरी कुल नौ जना बेपत्ता भएका थिए । बेपत्ताको अवस्था पत्ता नलाग्दा ती परिवारले अन्तिम संस्कार र काजक्रिया पनि गर्न सकेका छैनन् ।
वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस वर्ष दसैँको खुसी छाउन सकेको छैन । टीका लगाएर खुसी साट्ने समयमा ती परिवार आफन्त फर्किने आशामा दिन गन्दै छन् ।
भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन् । उनीहरूको अवस्था अज्ञात हुँदा पीडित परिवारका लागि दसैँको टीका उत्सवभन्दा बढी विछोड र पुनर्मिलनको आशासँग जोडिएको छ ।
