पाकिस्तानका कपडा कारखानामा काम गर्ने मजदुरहरू बढ्दो गर्मीका कारण गम्भीर स्वास्थ्य जोखिममा परेका छन्। विश्वप्रसिद्ध ब्रान्डका लागि उत्पादन हुने कराँचीका कारखानामा काम गर्ने श्रमिकहरूले अत्यधिक ताप, सास फेर्न कठिन हुने र अचेत हुने जस्ता समस्या भोग्नु परेको एसोसिएटेड प्रेसले जनाएको छ।
कारखानाभित्र पसिना र मेसिनको तापले भरिएको वातावरणमा श्रमिकलाई काम गर्न बाध्य पारिएको छ। कराँचीको एक कारखानामा कार्यरत २८ वर्षीया सिद्दिकी गर्मी सहन नसकेर बेहोस भएकी थिइन्। सास फेर्न गाह्रो भएपछि सहकर्मीले सुपरभाइजरलाई बोलाए पनि उनलाई काम सक्न आदेश दिइयो। रोजगारदाताको बदला डरले उनको पूरा नाम सार्वजनिक गरिएको छैन।
एसोसिएटेड प्रेसले एक दर्जनभन्दा बढी कामदारसँग गरेको कुराकानीमा एक जनाबाहेक सबैले गर्मीका कारण बिदा लिँदा तलब गुमाएको बताएका छन्। तीमध्ये १० जना अमेरिका र युरोपका बजारमा बिक्री हुने ब्रान्डका सामान बनाउँछन्।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनले पाकिस्तानमा अत्यधिक गर्मीको खतरा बढाएको छ। गर्मी र चरम आद्रताले निर्जलीकरण, लू, मुटुको समस्या र अङ्गले काम गर्न छाड्नेसम्मको अवस्था ल्याउन सक्छ। कामदारले आँखा धमिलो हुने, हातखुट्टा सुन्निने र हदबाहिर थकाइ लाग्ने गुनासो गरेका छन्। बेहोस भएकालाई छोटो विश्राम वा चिनीपानी दिएर फेरि काममा पठाइने गरिएको छ।
कारखानामा चिसो पानी, पर्याप्त आराम, तापक्रम नाप्ने यन्त्र र हावा आवतजावतको व्यवस्था नभएको कामदारको भनाइ छ। ताप रोक्ने अवरोध, शीतलन प्रणाली र छतमा सेतो रङ लगाउने उपाय अपनाउन सकिने विज्ञको सुझाव छ।
मासिक १५ हजार पाकिस्तानी रुपैयाँ कमाउने सिद्दिकीको उपचार खर्च रोजगारदाताले नवेहोरेपछि छ जना सन्तानका लागि खानाको जोहो गर्न कठिन भएको छ। “कहिलेकाहीँ उनीहरूले एकपटक मात्र खान्छन्, कहिलेकाहीँ खानै पाउँदैनन्,” उनले भनेकी छन्।
श्रमिक सुरक्षा सम्बन्धी कानून भए पनि कार्यान्वयन कमजोर रहेको अधिकारकर्मीको भनाइ छ। इन्डिटेक्स र म्याङ्गोले श्रमिक स्वास्थ्य तथा सुरक्षा प्राथमिकतामा रहेको र आपूर्तिकर्तामार्फत जोखिम घटाउने प्रयास भइरहेको बताएका छन्। तर अधिकारकर्मीले अन्तर्राष्ट्रिय ब्रान्डले आपूर्तिकर्तालाई जवाफदेही बनाउनुपर्ने माग गरेका छन्। सिन्ध प्रान्तकी सरकारी प्रवक्ता सादिया जावेदले नियम कार्यान्वयनमा चुनौती रहेको स्वीकार गरेकी छन्। “महिलाहरू धेरै रुन्छन् र गुनासो गर्छन्, तर पनि काम गर्नैपर्छ,” सिद्दिकीले भनिन्।
