अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र गतिमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वमाथि गम्भीर चुनौती खडा गरिरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को नयाँ प्रतिवेदनले जनाएको छ । अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक भएको १३० पृष्ठ लामो प्रतिवेदनमा चीनसँगै रुस, इरान र उत्तर कोरियालाई अमेरिकी अन्तरिक्ष सुरक्षाका प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको छ ।
प्रतिवेदनअनुसार चीनले उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेको छ, जसबाट अमेरिका तथा उसका सहयोगी राष्ट्रका अन्तरिक्ष प्रणालीमाथि खतरा बढ्न सक्छ । चीनको लक्ष्य अन्तरिक्ष क्षेत्रमा अग्रणी शक्ति बन्ने, अन्तर्राष्ट्रिय मापदण्डमा प्रभाव बढाउने र अन्य देशको अन्तरिक्ष प्रणालीमाथिको निर्भरतालाई रणनीतिक लाभका रूपमा उपयोग गर्ने रहेको डिआइएको आकलन छ ।
तथ्याङ्कले चीनको विस्तारको गति देखाउँछ । सन् २०१६ मा २२ वटा अन्तरिक्ष प्रक्षेपण गरेको चीनले सन् २०२५ मा ९३ वटा प्रक्षेपण गर्यो, र सोही अवधिमा उपग्रह प्रक्षेपण ४० बाट बढेर ३८४ पुग्यो । सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन उपग्रह रहेका छन् । चीनको बेइडोउ नेभिगेसन प्रणालीमा ४९ उपग्रह छन् र यसका दुई अर्बभन्दा बढी प्रयोगकर्ता छन् ।
डिआइएका अनुसार चीनले उपग्रह नष्ट गर्न सक्ने भूमिमा आधारित प्रतिउपग्रह क्षेप्यास्त्रसहित जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरिरहेको छ । चीनले सन् २००७ मा क्षेप्यास्त्र प्रहार गरी मौसम उपग्रह नष्ट गरेको थियो भने सन् २०१३ मा ३० हजार किलोमिटर उचाइसम्म वस्तु प्रक्षेपण गरेको थियो । ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले प्रतिअन्तरिक्ष क्षमता प्रयोग गर्न सक्ने डिआइएको आकलन छ । आगामी दशकमा चीन र रुसले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष प्रणाली तथा अत्याधुनिक कृत्रिम बौद्धिकता प्रविधि विकास गरे अन्तरिक्ष सुरक्षाको चुनौती थप बढ्न सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ ।
