काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ। कम्प्लेक्स व्यवस्थापनले जारी गरेको सूचनाअनुसार गत असोज २२ गते आइतबार साँझ १० बजे कम्प्लेक्सको नवौँ तलामा रहेको एलसी ७ (४०३४) नम्बरको पसलमा आगो लागेको थियो।
आगलागीबाट उक्त पसलसहित कम्प्लेक्सका अन्य पसलमा समेत क्षति पुगेको व्यवस्थापनले जनाएको छ। आगोका कारण पाइपिङ तथा सिलिङमा समेत व्यापक क्षति पुगेको सूचनामा उल्लेख छ।
कम्प्लेक्सका विभिन्न स्थानमा धुवाँ, सिसाका टुक्रा तथा धुवाँको गन्ध रहेकाले पसल सञ्चालन गर्न र आवतजावत गर्न असुरक्षित अवस्था सिर्जना भएको व्यवस्थापनले बताएको छ। उक्त अवस्थालाई ध्यानमा राख्दै व्यवस्थापनले असोज २३ गतेदेखि २६ गतेसम्म कम्प्लेक्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।
सूचनामा आगलागीको कारण र मानवीय क्षतिबारे भने केही उल्लेख गरिएको छैन।
