अर्घाखाँची । दशैँमा टीका लगाउन ससुराली हिँडेका बाबु र छोराको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–८ निवासी देवीराम आचार्य र उनका छोरा मोटरसाइकलमा चढेर घरबाट निस्किएका थिए ।
भूमिकास्थान–२ मा लु. ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा अन्दाजी ६२ वर्षीय देवीराम र उनका २३ वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
बाबु–छोरा हिजो साँझदेखि सम्पर्कविहीन थिए । घरपरिवारले खोजी गरे पनि फेला नपरेपछि घटना बाहिर आएको हो । दुर्घटना भएको स्थान सडकभन्दा केही मिटर तल रहेकोले सुरुमा कसैले देख्न सकेन । पछि वरपरका सीसीटीभी क्यामेराका दृश्य नियाल्दै जाने क्रममा दुर्घटनास्थल पत्ता लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसीले थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । दशैँको खुसीयालीबीच टीका थाप्न हिँडेका बाबु–छोराको अकल्पनीय निधनले भूमिकास्थान क्षेत्र शोकमा डुबेको छ ।
