ग्रिनल्याण्डको संसद्ले आर्कटिक क्षेत्रमा अवस्थित रणनीतिक टापुमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने सुरक्षा सम्झौतालाई अनुमोदन गरेको छ। अमेरिका र डेनमार्कसँग भएको उक्त सम्झौताले टापुमा सुरक्षा सहकार्य थप बलियो बनाउने लक्ष्य राखेको छ।
गत सेप्टेम्बर २२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा टापुमा अमेरिकी सैन्य उपस्थिति बढाउने व्यवस्था गरिएको छ भने ग्रिनल्याण्डमाथि डेनमार्कको सार्वभौमिकता र त्यहाँका बासिन्दाको आत्मनिर्णयको अधिकारलाई पनि पुनः पुष्टि गरिएको छ।
मङ्गलबार भएको मतदानमा १६ जना सांसदले सम्झौताको पक्षमा मतदान गरे भने विपक्षमा कसैले पनि मत खसालेनन्। सात जना सांसद भने मतदानमा अनुपस्थित रहे। गत महिना भएको प्रारम्भिक छलफलमै अधिकांश सांसदले सम्झौताको समर्थन गर्ने सङ्केत गरिसकेका थिए।
ग्रिनल्याण्डका विदेशमन्त्री मुट इगेडले अन्तर्राष्ट्रिय परिस्थिति झन् अनिश्चित बन्दै गएको बेला टापुको सुरक्षा र भविष्यको रक्षाका लागि यो अनुमोदन महत्त्वपूर्ण कदम भएको बताएका छन्।
ग्रिनल्याण्ड र डेनमार्क दुवैतर्फ आवश्यक संसदीय प्रक्रिया पूरा भएपछि सम्झौता लागू हुनेछ। डेनमार्कको संसद्मा नोभेम्बर ११ मा विधेयकमाथि पहिलोपटक छलफल हुने र दोस्रो छलफलपछि नोभेम्बर १९ मा मतदान गर्ने कार्यतालिका छ।
