मध्यपुर थिमि — पोखरा ११ ले तेस्रो संस्करणको नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको छ। शुक्रबार मध्यपुर थिमिको मैदानमा भएको फाइनल भिडन्तमा पोखराले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि ४–० को स्पष्ट जित निकाल्यो।
खेलको पहिलो हाफमै पोखराले अग्रता बलियो बनाएको थियो। डेनिम राई, सुवीनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले गोल गर्दै टोलीलाई ३–० को अवस्थामा पुर्याए। दोस्रो हाफमा गंगाबहादुर तामाङले थप एक गोल गरेपछि पोखराको जित पक्का भयो।
उपाधिसँगै पोखराले आठ लाख रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता आर्मीले पाँच लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो।
व्यक्तिगत विधामा पनि पोखराको वर्चस्व देखियो। टोलीका मिडफिल्डर गोविन्दबहादुर थापा प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले पुरस्कारस्वरूप स्कुटर प्राप्त गरे। योगेन थकाली उत्कृष्ट प्रशिक्षक तथा सुरेन्द्रबहादुर तामाङ उत्कृष्ट फरवार्ड चुनिए। सानोगौचरण नाइट किंग्स क्लबका शम्भु श्रेष्ठ उत्कृष्ट गोलकिपर, आर्मीका चुनबहादुर थापा उत्कृष्ट डिफेन्डर र राजु तामाङ उत्कृष्ट मिडफिल्डर घोषित भए। उनीहरू प्रत्येकले १० हजार रुपैयाँ पुरस्कार पाए।
धरान सिटी एफसीले फेयर प्ले अवार्ड जित्यो। प्रतियोगिताका सबैभन्दा बढी उमेरका खेलाडी, थासाङ स्पोर्ट्स क्लबका ७३ वर्षीय डाक्टर कृष्ण भट्टचनलाई पनि सम्मान गरियो।
समापन समारोहमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, वडा अध्यक्षहरू कृष्णहरि आचार्य र श्रीकृष्ण श्रेष्ठ, अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा तथा राष्ट्रिय टोलीका पूर्वखेलाडी विज्ञानराज शर्मा र उपेन्द्रमान सिंह उपस्थित थिए।
