काठमाडौँ — नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा शुक्रबार भएका दुई खेलपछि अङ्क तालिकामा ठूलो फेरबदल भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले जित निकाल्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा उक्लिएका छन्।
पहिलो खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ३९ रनले पराजित गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो। जवाफमा १७८ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमा सीमित भयो।
कर्णालीका लागि दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले ५५ बलमा ७ छक्का र ५ चौकासहित अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। दीपक डुम्रेले १८ रन जोड्दाबाहेक अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन्। सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्ननायके र अविनाश बोहोराले समान १ विकेट लिए।
सुदूरपश्चिमका लागि जैफ जैबले ३५, विनोद भण्डारीले २७, म्याकमलेनले २४ र पाण्डेले २३ रन बनाए।
दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले हरायो। चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा अलआउट भयो। पोखराका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। चितवनका रिजन ढकालले ४ विकेट र कमल ऐरीले ३ विकेट लिए। चितवनका कप्तान सिकन्दर राजाले १६ बलमा ३७ रन बनाए भने बोपाराले ३५ रन जोडे।
शुक्रबारको नतिजापछि सुदूरपश्चिमले पाँच खेलबाट ६ अङ्क जोड्दै दोस्रो स्थान ओगटेको छ। चार खेलबाट पाँच अङ्क जोडेको चितवन तेस्रो स्थानमा छ। कर्णाली पाँचौँ स्थानमा झरेको छ भने पोखरा लगातार चौथो हारसँगै तालिकाको पुछारमा छ। प्लेअफको गणितीय सम्भावना कायम राख्न पोखराले अब बाँकी तीन वटै खेल जित्नुपर्नेछ।
