इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रभित्र रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरमा ड्रोनबाट हमला गरेको छ। तेहरानमा रहेको मेहर समाचार एजेन्सीले आइतबार यो जानकारी सार्वजनिक गरेको हो।
समाचार एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोरको स्थल सेनाले गरेको हमलामा बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालय शनिबार राति निशाना बनाइएको थियो। इरानले कोमाला समूहलाई आतङ्कवादी तथा पृथकतावादी सङ्गठनका रूपमा हेर्दै आएको छ।
इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा इरानी कुर्द विपक्षी लडाकु समूहका कैयौँ शिविर र आधार रहेका छन्। मध्यपूर्वमा फेब्रुअरीदेखि द्वन्द्व चर्किएपछि इरानले ती समूहलाई पटकपटक निशाना बनाउँदै आएको छ।
तेहरानले इरानी कुर्द लडाकु समूहहरूले आफ्नो कट्टर शत्रु इजरायलको साथ पाएको आरोप लगाउँदै आएको छ। तर पछिल्लो ड्रोन हमलाको जिम्मेवारी भने आईआरजीसीले तत्काल आधिकारिक रूपमा लिएको छैन।
यस क्षेत्रमा भएका पछिल्ला हमलामध्ये सबैभन्दा घातक घटना गत जुलाई १७ मा भएको थियो। त्यतिबेला सुलेमानिया सहरनजिक कोमाला समूहका नौ जना सदस्य मारिएका थिए।
