सिङ्गापुरले आणविक ऊर्जाको क्षेत्रमा आफ्नो आन्तरिक क्षमता बलियो बनाउन तीनवटा नयाँ योजना अघि सारेको छ। ऊर्जा उत्पादनमा उन्नत आणविक प्रविधि कत्तिको उपयुक्त हुन्छ भन्ने मूल्याङ्कन गर्नु यी योजनाको मुख्य उद्देश्य हो।
सोमबार जारी संयुक्त विज्ञप्तिमार्फत सिङ्गापुरका सम्बन्धित सरकारी निकाय र ऊर्जा बजार प्राधिकरणले ती योजना सार्वजनिक गरेका हुन्। उनीहरूका अनुसार यी योजनाले सन् २०२७ मा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको एकीकृत आणविक पूर्वाधार समीक्षा मिसनका लागि मुलुकलाई तयार हुन पनि सघाउनेछन्।
सिङ्गापुरले आणविक ऊर्जा अपनाउने कि नअपनाउने भन्ने अन्तिम निर्णय भने अहिलेसम्म गरेको छैन। तर, यस विषयमा राम्रो जानकारी राख्नु र आफ्नै क्षमता विकास गर्नु सूचित निर्णयका लागि आवश्यक रहेको अधिकारीहरूको भनाइ छ।
तीन योजनामध्ये पहिलो, सिङ्गापुर आणविक जनशक्ति विकास कार्यक्रम सन् २०२७ देखि सुरु हुनेछ। यसले व्यवस्थित तालिम र क्षमता अभिवृद्धिमार्फत सरकारी निकाय तथा विश्वका प्रमुख आणविक संस्थाबीच साझेदारी निर्माण गर्नेछ र चरणबद्ध रूपमा लागू गरिनेछ।
दोस्रो योजनाअन्तर्गत छानिएका कम्पनीका कर्मचारीलाई अन्तर्राष्ट्रिय साझेदारसँगको तालिम र उद्योगसम्बन्धी कार्यक्रममा सहभागी हुन आर्थिक सहयोग दिइनेछ। कर्मचारी निमन्त्रणाका आधारमा छानिनेछन्। तेस्रो योजना, सिङ्गापुर फ्युचर इनर्जी फेलोसिपले अन्तर्राष्ट्रिय ऊर्जा विज्ञहरूलाई सिङ्गापुर बोलाएर दीर्घकालीन ऊर्जा नीति र आणविक ऊर्जासहित कम कार्बन उत्सर्जन गर्ने प्रविधिबारे स्वतन्त्र रणनीतिक सल्लाह लिनेछ।
